dmli

ताजा खबर

FATF Recommendation को नेपाली अनुवाद (Unofficial)

वित्तीय कारबाही कार्यदल ‌(FATF) का सिफारिसहरु

 

क. सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको नीति तथा समन्वय:

१. जोखिम मूल्यांकन तथा जोखिममा आधारित दृष्टिकोण लागू गर्ने:

राष्ट्रहरुले आफ्नो राष्ट्रको हकमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी जोखिमको अवस्था पहिचान, मूल्यांकन तथा वोध गर्नुपर्छ र त्यस्तो जोखिम प्रभावकारी रुपमा घटाउने उद्देश्यले जोखिम मूल्यांकन तथा स्रोत परिचालन गर्ने अभिप्रायले काम कारबाही संयोजन गर्न निकाय वा संयन्त्र तोक्ने लगायतका काम कारबाही गर्नुपर्छ । त्यस्तो मूल्यांकनको आधारमा राष्ट्रले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्य घटेको वा निवारण भएको सुनिश्चिित गर्नको लागि पहिचान गरिएको  जोखिमको अनुपातमा जोखिममा आधारित दृष्टिकोण लागू गर्नुपर्छ । वित्तीय कारबाही कार्यदलका सबै सिफारिसको हकमा जोखिममा आधारित उपायको कार्यान्वयन गर्न र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण प्रणालीमा स्रोत, साधनको प्रभावकारी वितरण गर्ने सम्बन्धमा यो दृष्टिकोण एउटा महत्वपूर्ण आधार हुनुपर्छ । उच्च जोखिम पहिचान गरेकोमा राष्ट्रहरुले आफूले अपनाएको सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण प्रणाली पूर्णतया सही रुपमा त्यस्तो जोखिम सम्बोधन गर्न सवल भएको सुनिश्चित गर्नुपर्छ । न्यून जोखिम पहिचान गरेकोमा राष्ट्रहरुले केही निश्चित शर्तमा वित्तीय कारबाही कार्यदलका सिफारिस कार्यान्वयनलाई सरलीकृत उपाय लागू गर्ने निर्णय गर्न सक्छन् ।

राष्ट्रहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको जोखिम पहिचान, मूल्यांकन र न्यूनीकरण गर्न वित्तीय संस्था तथा तोकिएका गैरवित्तीय पेशाकर्मी वा व्यवसायीहरुले प्रभावकारी काम कारबाही गर्नुपर्ने गरी व्यवस्था गर्नु पर्नेछ ।

२. राष्ट्रिय सहयोग र समन्वय

राष्ट्रहरुले पहिचान गरेका जोखिमद्वारा सूचित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय नीति अवलम्बन गरी सोको नियमित रुपमा पुनरावलोकन गर्नुपर्छ र त्यस्तो नीतिको सम्बन्धमा समन्वयको लागि कुनै एक निकाय वा अन्य जिम्मेवार संयन्त्र तोक्नुपर्छ ।

 

राष्ट्रहरुले नीति निर्माता, वित्तीय जानकारी इकाई, कानून कार्यान्वयन गर्ने निकाय, सुपरिवेक्षक तथा नीति निर्माण र परिचालन तहमा रहेका अन्य सम्बन्धित सक्षम निकायहरुमा सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा आम विनासकारी हातहतियारको विस्तारमा हुने लगानी विरुद्ध लड्ने नीति र क्रियाकलापको विकास तथा कार्यान्वयनको सम्बन्धमा राष्ट्रिय तहमा एक अर्कालाई सहयोग गर्न र उपर्युक्तानुसार समन्वय गर्न आवश्यक पर्ने प्रभावकारी संयन्त्र विद्यमान रहेको सुनिश्चित गर्नुपर्छ ।

 

ख. सम्पत्ति शुद्धीकरण र जफत

३. सम्पत्ति शुद्धीकरणको अपराध

राष्ट्रहरुले सम्पत्ति शुद्धीकरणलाई भियाना महासन्धि र पालेर्मो महासन्धिको आधारमा अपराधको रुपमा परिभाषित गर्नुपर्छ । सम्बद्ध कसूरको फराकिलो दायरा समावेश गर्ने उद्देश्यले राष्ट्रहरुले सम्पत्ति शुद्धीकरणको अपराधलाई सबै गम्भीर अपराधको हकमा लागू गर्नुपर्छ ।

 

४. जफत तथा अल्पकालीन उपायहरु

राष्ट्रहरुको सक्षम निकायले निर्दोष तेस्रो पक्षको अधिकारमा प्रतिकूल प्रभाव नपर्ने गरीे देहायका सम्पत्ति रोक्का, नियन्त्रण र जफत गर्नसक्ने गरी भियाना महासन्धि, पलेर्मो महासन्धि र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी दमन सम्बन्धी महासन्धिमा व्यवस्था गरिए सरहका कानूनी उपाय लगायतका उपायहरु अवलम्बन गर्नुपर्छ

(क) शुद्धीकरण गरिएको सम्पत्ति,

(ख) सम्पत्ति शुद्धीकरणको कसूर वा सम्बद्ध कसूर गर्नमा प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरजन्य सम्पत्ति वा साधन,

(ग) आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको लागि वा आतङ्ककारी कार्य वा आतङ्कवादी संगठनले प्रयोग गरेको वा प्रयोग गर्न खोजेको वा प्रयोग गर्न छुट्याइएको सम्पत्ति, वा

(घ) त्यस्तै मूल्य बराबरको अन्य सम्पत्ति ।

 

त्यस्ता उपायहरुमा राष्ट्रहरुको सक्षम निकायले देहायका कार्य समेत गर्न सक्ने व्यवस्था पनि समावेश गर्नुपर्छ: (क) जफत हुने सम्पत्ति खोज्ने, पहिचान गर्ने र मूल्याङ्कन गर्ने, (ख) सम्पत्तिको कुनै कारोबार, स्थानान्तरण वा निःसर्ग गर्ने कार्य रोक्नको लागि त्यस्तो सम्पत्ति रोक्का वा नियन्त्रण गर्ने जस्ता अन्तरकालिन कानूनी उपाय अवलम्बन गर्ने, (ग) जफत हुने सम्पत्ति रोक्का वा नियन्त्रण वा प्राप्ति गर्ने राज्यको सक्षमतामा प्रतिकूल प्रभाव पार्ने काम कारबाही निवारण वा वदर गर्ने, (घ) अन्य कुनै उपयुक्त अनुसन्धानात्मक उपाय अवलम्बन गर्ने ।

 

आफ्नो राष्ट्रिय कानूनका सिद्घान्तहरु अनुकुल हुने हदसम्म फौजदारी अभियोग प्रमाणित नभईकन जफत हुनसक्ने त्यस्तो कसूरजन्य सम्पत्ति वा साधन जफत (बिना अभियोगमा आधारित जफत) गर्न सक्ने वा जफत हुने भनी दावी गरिएको सम्पत्तिको वैध उत्पत्ति कसूरदारले प्रमाणित गर्नु पर्ने व्यवस्था गर्ने उपायहरु अवलम्बन गर्ने तर्फ राष्ट्रहरुले विचार गर्नुपर्छ ।

 

ग. आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी र आमविनासकारी हातहतियारको विस्तारमा हुने लगानी

५. आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अपराध

राष्ट्रहरुले आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी दमन सम्बन्धी महासन्धिको आधारमा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई अपराधको रुपमा परिभाषित गर्नुपर्छ, र आतङ्ककारी कार्यमा वित्तीय लगानीलाई मात्र नभई कुनै विशेष आतङ्ककारी कार्य वा कार्यहरुसँग सम्बन्ध नभएका आतङ्कवादी संगठन र आतङ्ककारी व्यक्तिलाई गर्ने वित्तीय लगानीलाई समेत अपराधको रुपमा परिभाषित गर्नुपर्छ । राष्ट्रहरुले त्यस्ता अपराधलाई सम्पत्ति शुद्धीकरण अपराधको सम्बद्ध कसूरको रुपमा परिभाषित गरिएको सुनिश्चित गर्नुपर्छ ।

 

६. आतङ्कवाद र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसँग सम्बन्धित लक्षित वित्तीय कारबाही

राष्ट्रहरुले आतङ्कवाद र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको नियन्त्रण र दमन सम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को प्रस्तावको परिपालना गर्न लक्षित वित्तीय कारबाही प्रणालीको कार्यान्वयन गर्नुपर्छ । यी प्रस्तावहरुले राष्ट्रहरुलाई (१) संयुक्त राष्ट्र संघको बडापत्रको परिच्छेद ७ अन्तर्गत संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले दिएको अधिकारद्वारा निर्धारण गरिएको प्रस्ताव नं १२६७ (१९९९) र त्यसका पछिका प्रस्तावहरुबाट वा, (२) प्रस्ताव नं १३७३ (२००१) बमोजिम कोष वा अन्य सम्पत्ति बिना कुनै ढिलाई रोक्का गर्न र तोकिएको कुनै व्यक्ति र निकायलाई वा निजको हितको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यस्तो कोष वा सम्पत्ति उपलब्ध नगराइएको सुनिश्चित गर्ने दायित्व सिर्जना गरेका छन् ।

 

७. आमविनासकारी हातहतियारको विस्तारमा हुने लगानीसँग सम्बन्धित लक्षित वित्तीय कारबाही

राष्ट्रहरुले आम विनासकारी हातहतियारको विस्तारमा हुने लगानी निवारण, दमन र अवरोध सम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को प्रस्तावको परिपालन गर्न लक्षित वित्तीय कारबाही कार्यान्वयन गर्नु पर्छ । यी प्रस्तावहरुले संयुक्त राष्ट्र संघको बडापत्रको परिच्छेद ७ अन्तर्गत संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले तोकेको वा सोको अख्तियारी अन्तर्गतको कुनै व्यक्ति वा निकायलाई वा तिनको हितको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै कोष वा अन्य सम्पत्ति उपलब्ध नगराइएको सुनिश्चित गर्ने र त्यस्ता व्यक्ति वा निकायको कोष वा सम्पत्ति बिना कुनै ढिलाई रोक्का गर्नुपर्ने राष्ट्रहरुको दायित्व सिर्जना गरेका छन् ।

 

८. गैरनाफामूलक संगठन

राष्ट्रहरुले आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी दुरुपयोग गर्न जोखिमयुक्त गैरनाफामूलक संगठनसँग सम्बन्धित कानून र नियमहरु पर्याप्त भए नभएको पुनरावलोकन गर्नुपर्छ । राष्ट्रहरुले जोखिममा आधारित दृष्टिकोणबाट त्यस्ता गैरनाफामूलक संस्थाहरुलाई  आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको दुरुपयोगबाट बचाउन देहायका लगायत प्रतिबद्ध र समानुपातिक उपाय अवलम्बन गर्नुपर्छ ः

(क) आतङ्ककारी संगठनद्वारा त्यस्ता संगठनहरु वैध निकायको रुपमा दुरुपयोग गर्न नसकिने,

(ख) सम्पत्ति रोक्का गर्ने उपायबाट उम्कने समेत उद्देश्यले आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यको माध्यमको रुपमा त्यस्ता संगठनहरुलाई वैध निकायको रुपमा दुरुपयोग गर्न नसकिने,

(ग) गोप्य रुपमा परिवर्तन गरिएको कोष लुकाई वा छिपाई वैध बनाउने उद्देश्यले  आतङ्ककारी संगठनले दुरुपयोग गर्न नसक्ने ।

 

घ.   निरोधात्मक उपाय

  ९. वित्तीय संस्थाको गोपनियता सम्बन्धी कानून

राष्ट्रहरुले वित्तीय संस्थाको गोपनीयता सम्बन्धी कानूनले वित्तीय कारबाही कार्यदलको  सिफारिस कार्यान्वयनमा रोकावट नगर्ने कुरा सुनिश्चित गर्नुपर्छ ।

 

ग्राहकको पहिचान र अभिलेख संरक्षण

१०. ग्राहकको पहिचान

वित्तीय संस्थाहरुले बेनामी खाता वा स्पष्ट रुपमा काल्पनिक नाममा खाता सञ्चालन गर्न नपाउने गरी निषेध गर्नुपर्छ ।

देहायको अवस्थामा वित्तीय संस्थाहरुले ग्राहकको पहिचान गर्नुपर्छ:

(१)   व्यापारिक सम्बन्ध स्थापना गर्दा,

(२)   आकस्मिक रुपमा देहाय बमोजिम कारोबार गर्दा : (क) तोकिएको उपयुक्त  सीमा भन्दा माथि (१५,०००। अमेरिकी डलर÷यूरो) वा, (ख) सिफारिस १६ को व्याख्यात्मक टिप्पणीमा समेटिएका परिस्थितिमा भएका त्यस्ता वायर ट्रान्सफर,

(३)   सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी भएको आशंका भएमा, वा

(४) पहिले लिएको ग्राहक पहिचानको तथ्यांकको सत्यता वा पर्याप्तताको बारेमा वित्तीय संस्थालाई शंका भएमा ।

वित्तीय संस्थाले सञ्चालन गर्ने ग्राहकको पहिचान (कस्टमर ड्यू डिलिजेन्स) को व्यवस्था कानूनमा गरिएको हुनुपर्छ भन्ने सिद्धान्त छ । प्रत्येक राष्ट्रले कानूनद्वारा वा लागू गर्न सकिने साधनद्वारा कसरी ग्राहकको पहिचान (कस्टमर ड्यू डिलिजेन्स) गर्न सकिन्छ भन्ने कुराको निर्धारण गर्न सक्नेछ ।

ग्राहकको पहिचान (कस्टमर ड्यू डिलिजेन्स) गर्न अवलम्बन गरिने उपाय देहाय बमोजिम छन्ः

(क) ग्राहकको पहिचान गर्ने र त्यस्तो ग्राहकको पहिचानलाई विश्वसनीय, स्वतन्त्र दस्तावेजको स्रोत, तथ्याँक र सूचनाको प्रयोग गरी जाँच गर्ने,

(ख) वास्तविक धनी पहिचान र त्यस्तो वास्तविक धनीको पहिचान जाँच गर्न उचित उपाय अपनाउने जसले गर्दा वास्तविक धनी को हो भन्ने कुरामा वित्तीय संस्था सन्तुष्ट हुन सकोस् । कानूनी व्यक्ति र कानूनी प्रबन्धको हकमा ग्राहकको स्वामित्व र नियन्त्रण संरचनाको बारेमा वित्तीय संस्थालाई जानकारी हुन सक्ने उपाय समेत समावेश गर्ने,

(ग) व्यापारिक सम्बन्धको प्रयोजन र लक्षित प्रकृति बुझ्न आवश्यक र उपयुक्त सूचना प्राप्त गर्ने,

(घ) ग्राहकका सम्बन्धमा आफूसँग रहेको जानकारी निजको व्यवसाय वा जोखिम सम्बन्धी विवरण र आवश्यकता अनुसार कोषको स्रोत अनुरुप कारोबार भए नभएको सुनिश्चित गर्न निजसँग व्यावसायिक सम्बन्ध कायम रहेसम्म निरन्तर ग्राहक पहिचान (अनगोइङ कस्टमर ड्यू डिलिजेन्स) गर्ने ।

 

वित्तीय संस्थाहरुले माथिका बुँदा (क) देखि (घ) अन्तर्गत सबै ग्राहकको पहिचान (कस्टमर ड्यू डिलिजेन्स) का उपाय लागू गर्नु पर्नेछ । तर वित्तीय संस्थाहरुले सिफारिस १ र यो सिफारिसको व्याख्यात्मक टिप्पणी बमोजिम जोखिममा आधारित दृष्टिकोण अपनाई त्यस्ता उपायको हद निर्धारण गर्नुपर्नेछ ।

वित्तीय संस्थाहरुले व्यापारिक सम्बन्ध स्थापना गर्दा वा सो अघि वा आकस्मिक रुपमा आउने ग्राहकसँग कारोबार सञ्चालन गर्दा  ग्राहक र वास्तविक धनीको पहिचान र सोको जाँच गर्नुपर्छ । सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको जोखिम प्रभावकारी रुपमा व्यवस्थित गरिएको  र व्यवसायको सामान्य सञ्चालनमा अवरुद्ध गर्न आवश्यक नभएको अवस्थामा राष्ट्रहरुले त्यस्ता वित्तीय संस्थालाई सम्बन्ध स्थापना भइसकेपछि मनासिब रुपले व्यवहारिक हुने गरी यथाशक्य छिटो जाँच गरिसक्नु पर्ने गरी अनुमति दिन सक्नेछन् ।

वित्तीय संस्थाहरुले अपनाउनुपर्ने माथि खण्ड (क) देखि (घ) मा उल्लिखित शर्तहरु         (जोखिममा आधारित दृष्टिकोणको आधारमा उपायहरुको उपयुक्त संशोधनको अधिनमा रही) परिपालन गर्न असक्षम भएको अवस्थामा त्यस्ता वित्तीय संस्थाले खाता सञ्चालन गर्न, व्यावसायिक सम्बन्ध प्रारम्भ गर्नु वा कारोबार गर्नु हँुदैन वा व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्छ, र त्यस्ता ग्राहकको सम्बन्धमा शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिने तर्फ विचार गर्नुपर्छ ।

 

यी शर्तहरु सबै नयाँ ग्राहकहरुको हकमा लागू गर्नुपर्छ । वित्तीय संस्थाहरुले यी शर्तहरु तात्विक रुपमा र जोखिमको आधारमा विद्यमान ग्राहकहरुको हकमा समेत लागू गर्नुपर्छ । साथै विद्यमान सम्बन्धका बारेमा उपयुक्त समयमा ग्राहकको पहिचान गर्नुपर्छ ।

 

११. अभिलेख राख्ने

सक्षम निकायबाट अनुरोध गरिएका सूचनाहरु छिटो छरितो तवरले उपलब्ध गराउन सक्ने गरी वित्तीय संस्थाहरुले दुवै आन्तरिक र अन्तर्राष्ट्रिय कारेबार सम्बन्धी सबै आवश्यक अभिलेख कम्तीमा पाँच वर्षसम्म दुरुस्त राख्नुपर्छ । आवश्यकतानुसार फौजदारी कार्यको अभियोजनको लागि प्रमाण उपलब्ध गराउने उद्देश्यले त्यस्ता अभिलेखहरु व्यक्तिगत कारोबारको पुनर्निर्माण (कुनै मुद्रा समावेश भएको भए सो मुद्राको प्रकार र परिमाण समेत) गर्न सकिने गरी पर्याप्त हुनुपर्छ ।

वित्तीय संस्थाहरुले ग्राहक पहिचानका उपायहरुद्वारा प्राप्त गरिएका सबै अभिलेखहरु (जस्तै, राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा त्यस्तै प्रकारका कागजात जस्ता सरकारी पहिचानका अभिलेख वा प्रति), लेखा सम्बन्धी कागजात, फाइल र व्यापारिक पत्राचार एवं विश्लेषण गरिएको भए सोको नतिजा (जस्तै, जटिलता र अस्वभाविक ठूला कारोबारको उद्देश्य र भूमिका स्थापित गर्न गरिएका सोधपुछ) व्यवसायिक सम्बन्ध समाप्त भएको मितिले वा आकस्मिक कारोबार भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्छ ।

वित्तीय संस्थाहरुले कारोबारको अभिलेख र ग्राहकको पहिचान (कस्टुमर ड्यू डिलिजेन्स) को उपायद्वारा प्राप्त गरिएका सूचनाहरु सुरक्षित राख्नुपर्ने गरी कानूनी व्यवस्था गर्नुपर्छ ।

 

ग्राहकको पहिचान (कस्टमर ड्यू डिलिजेन्स) को सूचना र कारोबारको अभिलेख उपयुक्त निकाय मार्फत राष्ट्रिय सक्षम निकायलाई उपलब्ध गराउनु पर्छ ।

 

विशेष ग्राहक र क्रियाकलापका लागि अतिरिक्त उपायहरु

१२. उच्च पदस्थ व्यक्तिहरु

वित्तीय संस्थाहरुले उच्च पदस्थ विदेशी व्यक्तिहरु (ग्राहक वा वास्तविक धनी) को सम्बन्धमा, ग्राहकको पहिचान (कस्टुमर ड्यू डिलिजेन्स) को अतिरिक्त देहायका कार्य गर्नुपर्छ ः

(क) ग्राहक वा वास्तविक धनी उच्च पदस्थ व्यक्ति हो वा होइन भन्ने कुराको निर्धारण गर्न उपयुक्त जोखिम व्यवस्थापन प्रणाली स्थापित गर्ने

(ख) त्यस्तो व्यवसायिक सम्बन्ध स्थापना गर्न (वा विद्यमान ग्राहकको निरन्तरताको लागि) उच्च व्यवस्थापनको अनुमति प्राप्त गर्ने,

(ग)   सम्पत्तिको स्रोत र कोषको स्रोत स्थापित गर्न मुनासिब उपाय अवलम्बन गर्ने,

(घ) व्यापारिक सम्बन्धको वृहत् निरन्तर अनुगमन गर्ने ।

वित्तीय सस्ंथाहरुले कुनै ग्राहक वा वास्तविक धनी स्वदेशी उच्च पदस्थ व्यक्ति हो वा निज अन्तर्राष्ट्रिय संगठनको या त्यस्तो संगठनको खास कामको जिम्मेवारी लिएको व्यक्ति हो वा होइन भन्ने कुराको निर्धारण गर्न मुनासिब उपायहरु अवलम्बन गर्नुपर्छ । त्यस्तो व्यक्तिसँग उच्च जोखिमयुक्त व्यावसायिक सम्बन्ध भएको खण्डमा वित्तीय संस्थाहरुले अनुच्छेद (ख), (ग) र (घ) मा उल्लेख गरिएका उपायहरु अवलम्वन गर्नुपर्छ ।

उच्च पदस्थ सबै किसिमका व्यक्तिहरुका हकमा लागू हुने शर्तहरु त्यस्ता व्यक्तिका परिवारका सदस्य वा निकट सम्बन्ध भएका व्यक्तिहरुका हकमा पनि लागू हुनेछन् ।

 

१३.  करस्पोन्डेन्ट (प्रतिनिधि) बैंकिङ्ग

सीमापार करस्पोन्डेन्ट बैंकिङ्ग र यस्तै अन्य सम्बन्धका वारेमा वित्तीय संस्थाहरुले सामान्य ग्राहक पहिचानका उपायहरुका अतिरिक्त देहायका कार्य गर्नुपर्छः

(क)  रेस्पोन्डेन्ट संस्थाको व्यवसायको प्रकृति पूर्ण रुपले बुझ्न र त्यस्तो संस्था विरुद्ध सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी वा नियमनकारी कारवाही चले वा नचलेको कुरा लगायत सो संस्थाको ख्याति सार्वजनिक रुपमा उपलब्ध सूचनाका आधारका निर्धारण गर्न त्यस्तो संस्थाको बारेमा पर्याप्त सूचना, जानकारी संकलन गर्ने,

(ख) रेस्पोन्डेन्ट संस्थाको सम्पत्ती शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण नियन्त्रण प्रणालीको मूल्यांकन गर्ने,

(ग)  नयाँ करेस्पोन्डेन्ट सम्बन्ध स्थापना गर्नु पूर्व उच्च व्यवस्थापनबाट अनुमति प्राप्त गर्ने,

(घ) प्रत्येक संस्थाको आआफ्नो जिम्मेवारी स्पष्ट रुपमा बुझ्ने,

(ङ)   खाता मार्फत गरिने भुक्तानीको सन्दर्भमा, रेस्पोन्डेन्ट बैंकले करेस्पोन्डेन्ट बैंकको खातामा प्रत्यक्ष पहुँच भएको ग्राहकको पहिचान गरेको कुरामा सन्तुष्ट हुने, र त्यस्तो बंैकले अनुरोध गरिएको बखत सम्बद्ध ग्राहकको पहिचान सम्बन्धी सूचना करेस्पोन्डेन्ट बैंकलाई उपलब्ध गराउन सक्षम रहेको कुरामा सन्तुष्ट हुने ।

वित्तीय संस्थाहरुले शेल बैंकसँग करेस्पोन्डेन्ट बैंकिङ्क सम्बन्ध राख्न वा त्यस्तो सम्बन्धलाई निरन्तरता दिन नपाउने गरी निषेध गर्नु पर्छ । वित्तीय संस्थाहरु रेस्पोन्डेन्ट संस्थाले आफ्नो खाता शेल बैंकलाई प्रयोग गर्न अनुमति नदिएको कुरामा स्वयंमा सन्तुष्ट हुनुपर्छ ।

 

१४. मुद्रा वा मूल्य स्थानान्तरण सेवा

राष्ट्रहरुले मुद्रा वा मूल्य स्थानान्तरण सेवा प्रदान गर्ने प्राकृतिक वा कानूनी व्यक्तिहरुले इजाजतपत्र प्राप्त गरेका वा दर्ता भएका र वित्तीय कारबाही कार्यदलको सिफारिसमा आह्वान गरिएका सम्बद्ध उपायहरुको परिपालना सुनिश्चित गर्ने प्रभावकारी अनुगमन प्रणालीको अधीनमा रहेको सुनिश्चित गर्ने उपायहरु अवलम्बन गर्नुपर्छ । राष्ट्रहरुले इजाजत नलिई वा दर्ता नगराई मुद्रा वा मूल्य स्थानान्तरणको काम गर्ने प्राकृतिक वा कानूनी व्यक्तिको पहिचान गर्ने र उपयुक्त कारबाही हुने व्यवस्था गर्नुपर्छ ।

एजेन्टको रुपमा काम गरिरहेको कुनै पनि कानूनी वा प्राकृतिक व्यक्तिले सक्षम निकायद्वारा इजाजतपत्र प्राप्त गरेको वा सो निकायमा त्यस्तो व्यक्ति दर्ता भएको हुनुपर्छ, वा मुद्रा वा मूल्य स्थानान्तरणको सेवा प्रदायकले आफ्ना एजेन्टको वा मुद्रा वा मूल्य स्थानान्तरणको सेवा प्रदायकको सूची सक्षम निकायद्वारा पहँुचयोग्य हुने गरी दुरुस्त अवस्थामा राख्नु पर्नेछ । राष्ट्रहरुले एजेन्ट मार्फत मुद्रा वा मूल्य स्थानान्तरण सेवा प्रदायकलाई सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण कार्यक्रममा समावेश गर्न र ती कार्यक्रमको परिपालनाको अनुगमन गरेको सुनिश्चित गर्नको लागि उपायहरु अवलम्बन गर्नुपर्छ ।

 

१५. नयाँ प्रविधिहरु

राष्ट्रहरु र वित्तीय संस्थाहरुले (क) नयाँ उत्पादनको विकास र नयाँ वितरण संयन्त्र लगायतका नयाँ व्यापारिक अभ्यास, र (ख) नयाँ र पूर्ववत दुवै उत्पादनको लागि नयाँ वा विकसित प्रविधिको प्रयोगका सम्बन्धमा उत्पन्न हुनसक्ने सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको जोखिमको मूल्यांकन र पहिचान गर्नुपर्छ ।

वित्तीय संस्थाको हकमा त्यस्तो जोखिमको मूल्यांकन नयाँ उत्पादन, व्यापारिक अभ्यास वा नयाँ वा विकसित प्रविधिको प्रयोग गर्नु भन्दा पहिले गर्नुपर्छ । त्यस्ता संस्थाले त्यस्तो जोखिम घटाउन र व्यवस्थापन गर्न मुनासिब उपाय अवलम्बन गर्नुपर्छ ।

 

१६. वायर ट्रान्सफर

राष्ट्रहरुले वित्तीय संस्थाहरुले आवश्यक र सही स्रोतका सूचना तथा वायर ट्रान्सफर र सम्बन्धित सन्देश सम्बन्धी आवश्यक हितग्राही सूचना समावेश गरेको र  भुक्तानी श्रृंखलाभर वायर ट्रान्सफर र सम्बन्धित सन्देश सम्बन्धी जानकारी राखेको सुनिश्चित गर्नुपर्छ ।

राष्ट्रहरुले वित्तीय संस्थाहरुले आवश्यक स्रोतदाता वा हिताधिकारी सूचना कायम नराख्नेहरुको पहिचान गर्ने प्रयोजनको लागि वायर ट्रान्सफरको अनुगमन गरेको र उपयुक्त उपायको अवलम्बन गरेको सुनिश्चित गर्नुपर्छ ।

राष्ट्रहरुले आतङ्कवाद र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रस्ताव नं १२६७ (१९९९) र त्यस पछिका प्रस्तावहरु तथा प्रस्ताव नं. १३७३ (२००१) जस्ता संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्तावमा उल्लेख गरिएका जिम्मेवारीहरु अनुसार वित्तीय संस्थाहरुले वायर ट्रान्सफरको प्रक्रियाको सन्दर्भमा रोक्काको कारबाही गरेको र निर्धारित व्यक्ति र निकायसँग कारोबार गर्न नपाउने गरी निषेध गरिएको सुनिश्चित गर्नुपर्छ  ।

निर्भरता, नियन्त्रण र वित्तीय समूह

१७. तेस्रो पक्षसँगको निर्भरता

राष्ट्रहरुले सिफारिस १० मा उल्लिखित ग्राहक पहिचानका उपायहरु सम्बन्धी खण्ड (क) देखि (ग) सम्मका काम गर्न वा व्यवसाय शुरु गर्न तेस्रो पक्षमा निर्भर हुनसक्ने गरी वित्तीय संस्थाहरुलाई अनुमति दिन सक्छन् । तर देहायमा उल्लिखित मापदण्डहरु भने पूरा गर्नुपर्छ । त्यस्तो निर्भरताको अनुमति दिइएको अवस्थामा ग्राहकको पहिचान सम्बन्धी उपाय लागू गर्ने अन्तिम जिम्मेवारी तेस्रो पक्षसँग निर्भर रहने वित्तीय संस्थाहरुमा निहित रहनेछ ।

यस सम्बन्धमा पूरा गर्नुपर्ने मापदण्ड देहाय बमोजिम छन् ः

(क)    तेस्रो पक्षसँग निर्भर रहेको वित्तीय संस्थाले सिफारिस १० मा उल्लिखित ग्राहक पहिचानका उपायहरु सम्बन्धी खण्ड (क) देखि (ग) सँग सम्बन्धित आवश्यक सूचनाहरु तुरुन्त प्राप्त गर्नुपर्छ ।

(ख)    वित्तीय संस्थाहरुले ग्राहकको पहिचान सम्बन्धी तथ्याङ्क र ग्राहकको पहिचानको लागि आवश्यक पर्ने अन्य सम्बद्ध दस्तावेज अनुरोध गर्ना साथ बिना कुनै ढिलाई तेस्रो पक्षबाट उपलब्ध गराइने कुरामा आपूm सन्तुष्ट हुन पर्याप्त कदम चाल्नुपर्छ ।

(ग)    वित्तीय संस्थाहरु तेस्रो पक्षको नियमन, सुपरीवेक्षण वा अनुगमन गरिएको सम्बन्धमा र सिफारिस १० र ११ अनुरुप ग्राहकको पहिचान र अभिलेख संरक्षण सम्बन्धी शर्त परिपालनाको लागि तेस्रो पक्षले उपाय अवलम्वन गरेको कुरामा स्वयंमा सन्तुष्ट हुनुपर्छ ।

(घ)    त्यस्तो शर्त पूरा गर्ने तेस्रो पक्ष कुन मुलुकमा आधारित हुनसक्छ भनी निर्धारण गर्दा राष्ट्रहरुले राष्ट्रको जोखिमको तहका सम्बन्धमा उपलब्ध सूचनालाई दृष्टिगत गर्नुपर्छ ।

कुनै वित्तीय संस्था एउटै वित्तीय समूहको पक्ष रहेको तेस्रो पक्षसँग निर्भर रहेकोमा तथा (१) त्यस्तो समूहले सिफारिस १०, ११, १२  अनुरुपको ग्राहकको पहिचान र अभिलेख संरक्षण सम्बन्धी शर्त र सिफारिस १८ अनुसारको सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धका कार्यक्रम लागू गर्छ, र (२) सक्षम निकायबाट ती ग्राहकको पहिचान र अभिलेख संरक्षण शर्तको प्रभावकारी कार्यान्वयन गरिन्छ र समूहगत तहमा सम्पत्ति शुद्धिकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धका कार्यक्रमको सुपरीवेक्षण गरिन्छ भने सम्बन्धित सक्षम निकायले वित्तीय संस्थाले यसको समूहगत कार्यक्रम मार्फत माथि उल्लिखित खण्ड (ख) र (ग) अन्तर्गतका उपायहरु लागू गरेको कुरा विचार गर्न सक्छ र सो समूह सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धका नीतिहरुद्वारा राष्ट्रमा रहेको उच्च जोखिमलाई पर्याप्त तरिकाले कम गरिएको अवस्थामा निर्भरताको लागि खण्ड (घ) आवश्यक पूर्व शर्त होइन भनी निर्णय गर्न सक्छ ।

१८. आन्तरिक नियन्त्रण तथा विदेशी शाखा र सहायक संस्थाहरु

वित्तीय संस्थाहरुले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धका कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्ने गरी व्यवस्था गर्नुपर्छ । वित्तीय समूहहरुले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने प्रयोजनको लागि सो समूहभित्र नीतिहरु र सूचना आदान प्रदान गर्ने कार्यविधि समेतका सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धका समूहगत कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्ने गरी व्यवस्था गर्नुपर्छ ।

वित्तीय संस्थाहरुले आफ्ना विदेशी शाखा तथा आफ्नो बहुमत स्वामित्व भएको सहायक संस्थाले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धका कार्यक्रम मार्फत वित्तीय कारबाही कार्यदलको सिफारिस  कार्यान्वयन गर्ने सम्बन्धी आफ्नो मुलुकको शर्तसँग अनुकूल हुने गरी सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी उपायहरु अपनाएको सुनिश्चित गर्नुपर्ने गरी व्यवस्था गर्नुपर्छ ।

१९. उच्च जोखिमयुक्त राष्ट्रहरु

       वित्तीय संस्थाहरुले वित्तीय कारबाही कार्यदलले तोके बमोजिमका राष्ट्रका वित्तीय संस्था र प्राकृतिक तथा कानूनी व्यक्तिसँगको व्यापारिक सम्बन्ध र कारोबारका हकमा वृहत् ग्राहक पहिचानका उपायहरु लागू गर्नुपर्ने गरी व्यवस्था गर्नुपर्छ । अवलम्बन गरिएको वृहत् ग्राहक पहिचानका उपाय प्रभावकारी हुनुको साथै जोखिम अनुरुपको समानुपातिक हुनुपर्छ ।

       राष्ट्रहरु वित्तीय कारबाही कार्यदलले निर्दिष्ट गरेको अवस्थामा उपयुक्त प्रतिरोधी उपाय अवलम्बन गर्न सक्षम हुनुपर्छ । राष्ट्रहरु वित्तीय कारबाही कार्यदलले निर्दिष्ट नगरेको अवस्थामा पनि स्वतन्त्र रुपमा उपयुक्त प्रतिरोधी उपाय अवलम्बन गर्न समेत सक्षम हुनुपर्छ । त्यस्ता प्रतिरोधी उपायहरु प्रभावकारी हुनुको साथै जोखिम अनुरुपको समानुपातिक हुनुपर्छ ।

शंकास्पद कारोबारको प्रतिवेदन

२०. शंकास्पद कारोबारको प्रतिवेदन

    कुनै वित्तीय संस्थालाई कुनै रकम आपराधिक क्रियाकलापबाट प्राप्त हुन आएको वा आतङ्कवादी क्रियाकलापमा गरिने वित्तीय लगानीसँग सम्बन्धित हो भन्ने लागेमा वा त्यस्तो कुरामा विश्वास गर्नु पर्ने उपयुक्त आधार र कारण भएमा त्यसको यथार्थ प्रतिवेदन कानून बमोजिम वित्तीय जानकारी इकाईलाई दिनुपर्छ ।

२१. जानकारी दिने र गोपनीयता 

वित्तीय संस्था, तिनका संचालक, अधिकृत तथा कर्मचारीहरुलाई :

(क)  कस्तो प्रकारको आपराधिक क्रियाकलाप भएको हो भन्ने कुरा यकिन साथ थाहा नपाएको र वास्तवमा गैरकानूनी क्रियाकलाप हुन गएको वा नगएको जे भए तापनि तिनीहरुले शंकास्पद कुराको जानकारी असल मनसायले वित्तीय जानकारी इकाईमा दिएको अवस्थामा तिनीहरुलाई करार वा कुनै कानूनी, नियमनकारी वा प्रशासकीय व्यवस्थाद्वारा सूचना प्रकट गर्न लगाइएको कुनै प्रतिबन्ध उल्लंघन भए बापत कुनै पनि देवानी तथा फौजदारी दायित्वबाट उनीहरुलाई कानून बमोजिम संरक्षण गरिनु पर्छ,

(ख)  शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन वा तत्सम्बन्धी सूचना वा वित्तीय जानकारी इकाईमा रहेका तथ्य एवं सूचना खुलासा गर्न नपाउने गरी कानूनद्वारा निषेध गर्नुपर्छ ।

तोकिएको गैरवित्तीय पेशाकर्मी वा व्यवसायी

२२. गैरवित्तीय पेशाकर्मी वा व्यवसायीः  ग्राहकको पहिचान

   सिफारिस १०, ११, १२, १५ र १७ मा उल्लिखित ग्राहकको पहिचान र अभिलेख संरक्षण सम्बन्धी शर्त देहायको अवस्थामा  गैरवित्तीय पेशाकर्मी वा व्यवसायीको हकमा समेत लागू हुन्छः

(क) क्यासिनोः तोकिएको थ्रेसहोल्ड बराबरको वा सो भन्दा बढीको वित्तीय कारोबारमा ग्राहकसंलग्न भएमा ।

(ख) घरजग्गा खरिद वा बिक्री व्यवसायीः उनीहरु घरजग्गाको खरिद, बिक्री वा कारोबारसँग सम्बन्धित ग्राहकसँगको कारोबारमा संलग्न भएमा ।

(ग)   बहुमूल्य धातु तथा बहुमूल्य वस्तुको कारोबार गर्ने व्यवसायीः उनीहरु कुनै ग्राहकसँग तोकिएको थ्रेसहोल्ड बराबरको वा सो भन्दा बढीको नगद कारोबारमा संलग्न भएमा ।

(घ) कानून व्यवसायी, नोटरी, अन्य स्वतन्त्र कानून ब्यवसायी र लेखा व्यवसायीः उनीहरु आफ्ना ग्राहकको लागि देहायका गतिविधि सम्बन्धी कारोबार गर्न तयार भएको वा कारोबार गरेकोमाः

·         घरजग्गाको खरिद, बिक्री

·         ग्राहकको रकम, धितोपत्र वा अन्य सम्पत्तिको व्यवस्थापन,

·         बैंक, बचत वा अन्य धितोपत्र सम्बन्धी कार्यको व्यवस्थापन,

·         कम्पनीको स्थापना, सञ्चालन र व्यवस्थापन गर्दाका बखत गरिएको योगदान तथा लगानीको व्यवस्थापन,

·          कानूनी व्यक्ति वा कानूनी प्रबन्धको सृजना, संस्थापन, दर्ता, सञ्चालन वा व्यवस्थापन  वा कुनै व्यावसायिक संस्थाको खरिद र बिक्री ।

(ङ)  ट्रष्ट तथा कम्पनी सेवा प्रदायकः उनीहरु आफ्ना ग्राहकको लागि देहायका गतिविधि सम्बन्धी कारोबार गर्न तयार भएको वा कारोबार गरेकोमाः

·         कानूनी व्यक्तिको गठन सम्बन्धी एजेन्टको रुपमा काम गर्ने,

·         कम्पनीको संचालक वा सचिव, साझेदारीको साझेदारको रुपमा वा अन्य कानूनी व्यक्तिको सम्बन्धमा त्यस्तै पदमा कार्य गर्ने (वा अन्य व्यक्तिका लागि त्यस्तो कार्य गर्न व्यवस्था मिलाउने कार्य गर्ने),

·         कुनै कम्पनी, साझेदारी वा अन्य कुनै कानूनी व्यक्ति वा कानूनी प्रबन्धको लागि रजिष्टर्ड कार्यालय, व्यापारिक ठेगाना वा आवास, पत्राचार गर्ने वा प्रशासकीय ठेगाना उपलब्ध गराउने,

·         गुठी (ट्रष्ट) को गुठीयार (ट्रष्टी) को रुपमा काम गर्र्ने (वा अर्को व्यक्तिको लागि त्यस्तो कार्य गर्ने व्यवस्था मिलाउने कार्य गर्ने) वा अन्य स्वरुपको कानूनी प्रबन्धको लागि सो सरहको काम गर्ने,

·         अर्को व्यक्तिको लागि मनोनित शेयरधनीको रुपमा कार्य गर्ने (वा अर्को व्यक्तिको लागि त्यस्तो कार्य गर्ने व्यवस्था मिलाउने) ।

२३. गैरवित्तीय पेशाकर्मी वा व्यवसायीः अन्य उपायहरु

    सिफारिस १८ देखि २१ सम्म सिफारिसमा उल्लिखित शर्तहरु देहायको कुराको अधिनमा रही सबै  तोकिएका गैरवित्तीय पेशाकर्मी वा व्यवसायीको हकमा लागू हुनेछन्ः

(क)  कानून व्यवसायी, नोटरी, अन्य स्वतन्त्र कानून ब्यवसाय र लेखा व्यवसायीले सिफारिस २२ को अनुच्छेद (ङ) मा उल्लेख गरिएका क्रियाकलापसँग सम्बन्धित वित्तीय कारोबारमा कुनै ग्राहकको लागि वा निजको तर्फबाट संलग्न भएमा उनीहरुले शंकास्पद कारोबारको प्रतिवेदन दिनुपर्ने व्यवस्था गर्नुपर्छ । लेखा व्यवसायीका लेखापरीक्षण लगायतका अन्य व्यवसायिक गतिविधिको हकमा जानकारी दिनुपर्ने शर्त विस्तार गर्न राष्ट्रहरुलाई विशेष रुपमा प्रोत्साहन गरिएको छ ।

(ख) बहुमूल्य धातु तथा बहुमूल्य वस्तुको कारोबार गर्ने व्यवसायी कुनै ग्राहकसँग तोकिएको थ्रेसहोल्ड बराबरको वा सो भन्दा बढीको नगद कारोबारमा संलग्न भएकोमा उनीहरुले त्यस्तो शंकास्पद कारोबारको प्रतिवेदन दिनु पर्ने व्यवस्था गर्नुपर्छ ।

(ग)   ट्रष्ट र कम्पनी सेवा प्रदायकहरु सिफारिस २२ को अनुच्छेद (ङ) मा उल्लिखित गतिविधिसँग सम्बन्धित कारोबारमा आफ्नो ग्राहकको लागि वा ग्राहकको तर्फबाट संलग्न भएमा त्यस्तो ट्रष्ट र सेवा प्रदायकले त्यस्तो शंस्कास्पद कारोबारको प्रतिवेदन दिनु पर्ने व्यवस्था गर्नुपर्छ ।

 

ङ. पारदर्शीता तथा कानूनी व्यक्ति वा कानूनी प्रबन्धको वास्तविक धनी

२४. पारदर्शीता तथा कानूनी व्यक्तिको वास्तविक धनी

     राष्ट्रहरुले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको लागि कानूनी व्यक्तिलाई दुरुपयोग हुनबाट रोक्ने उपायहरु अवलम्बन गर्नुपर्छ । खासगरी राष्ट्रहरुले सक्षम अधिकारीहरुले समयमै प्राप्त गर्न वा पहुँच प्राप्त गर्न सक्ने गरी कानूनी व्यक्तिको वास्तविक धनी र नियन्त्रण सम्बन्धी पर्याप्त, सही र सामयिक सूचना उपलब्ध रहेको सुनिश्चित गर्नुपर्छ । खासगरी, धारक शेयर वा धारक शेयर पूँर्जी जारी गर्न सक्ने कानूनी व्यक्तिहरु भएका वा मनोनित शेयरधनी वा मनोनित संचालकको व्यवस्था गर्ने कानूनी व्यक्तिहरु भएका राष्ट्रहरुले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीका लागि त्यस्ता कानूनी व्यक्तिहरुको दुरुपयोग नभएको सुनिश्चित गर्नको लागि प्रभावकारी उपाय अपनाउनु पर्छ । राष्ट्रहरुले वित्तीय संस्था र सिफारिस १० र २२ मा उल्लेख गरिएका शर्तहरु परिपालना गर्नुपर्ने पेशाकर्मी वा व्यवसायीको वास्तविक धनी र सूचना नियन्त्रणमा पहुँच सहजीकरण गर्न उपायहरुको बारेमा विचार गर्नुपर्छ ।

 

२५. पारदर्शीता तथा कानूनी प्रबन्धको वास्तविक धनी

राष्ट्रहरुले कानूनी प्रबन्धलाई सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको लागि दुरुपयोग हुनबाट रोक्ने उपायहरु अवलम्बन गर्नुपर्छ । खासगरी, राष्ट्रहरुले सक्षम अधिकारीहरुले समयमै प्राप्त गर्न वा पहुँच प्राप्त गर्न सक्ने गरी ट्रष्ट, ट्रष्टी र हिताधिकारी सम्बन्धी पर्याप्त, सही र सामायिक जानकारी उपलब्ध भएको सुनिश्चित गर्नुपर्छ । राष्ट्रहरुले वित्तीय संस्था र सिफारिस १० र २२ मा उल्लेख गरिएका शर्तहरु परिपालना गर्नुपर्ने गैरवित्तीय पेशाकर्मी वा व्यवसायीका वास्तविक धनी र सूचना नियन्त्रणमा पहुँच सहजीकरण गर्न उपायहरुको बारेमा विचार गर्नुपर्छ ।

 

च. सक्षम निकायको अधिकार र जिम्मेवारी तथा अन्य संस्थागत उपायहरु

नियमन र सुपरीवेक्षण

२६.वित्तीय संस्थाको नियमन र सुपरीवेक्षण

    राष्ट्रहरुले वित्तीय संस्थाहरु पर्याप्त नियमन र सुपरीवेक्षणको अधिनमा रहेको र तिनले वित्तीय कारबाही कार्यदलको सिफारिस प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको कुरा सुनिश्चित गर्नुपर्छ । सक्षम निकाय वा वित्तीय सुपरीवेक्षकले अपराधी वा तिनका सहयोगीले कुनै पनि वित्तीय संस्थामा महत्वपूर्ण वा नियन्त्रणकारी हित धारण गर्न वा सोको वास्तविक धनी हुन वा त्यस्तो संस्थामा व्यवस्थापकीय जिम्मेवारी लिन नपाउने गरी आवश्यक कानूनी वा नियमनकारी उपाय अवलम्बन गर्नुपर्छ । राष्ट्रहरुले शेल बैंकको स्थापना गर्ने वा त्यस्ता बैंकको निरन्तरता दिने गरी कुनै अनुमति दिनु हुँदैन ।

ब्यवसायिक प्रयोजनका लागि प्रयोग गरिने मुख्य सिद्धान्तहरुको अधिनमा रहेका वित्तीय संस्थाहरुको हकमा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसँग समेत सम्बन्धित मुख्य नियमनकारी र सुपरीवेक्षकीय उपायहरु सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको प्रयोजनको लागि सोही अनुरुप लागू हुनुपर्छ । यसमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने प्रयोजनको लागि सुदृढ सामूहिक सुपरीवेक्षण समेत समावेश हुनुपर्छ ।

अन्य वित्तीय संस्थाहरुलाई सो क्षेत्रमा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको जोखिमलाई दृष्टिगत गरी इजाजत दिइने वा दर्ता गरिने र पर्याप्त किसिमले नियमन गरिने र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने प्रयोजनको लागि सुपरीवेक्षण वा अनुगमनको अधिनमा राख्नु पर्छ । वित्तीय संस्थाले वा मूल्यको स्थानान्तरण सेवा वा रकम वा मुद्राको सटही सुविधा सेवा उपलब्ध गराउने भएमा कम्तीमा पनि त्यस्ता संस्थाले इजाजतपत्र लिनुपर्ने वा त्यस्तो संस्था दर्ता हुनुपर्ने र अनुगमन र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय शर्त परिपालना भएको सुनिश्चिित गर्ने प्रभावकारी प्रणालीको अधीनमा रहने व्यवस्था गर्नु पर्नेछ ।

 

२७. सुपरीवेक्षकको अधिकार

    सुपरीवेक्षकलाई निरीक्षण गर्ने अधिकार लगायत वित्तीय संस्थाहरुको सुपरीवेक्षण वा अनुगमन गर्ने र सम्पत्ती शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी शर्तहरु वित्तीय संस्थाहरुबाट परिपालना भएको सुनिश्चित गर्ने पर्याप्त अधिकार हुनुपर्छ । त्यस्तो परिपालनाको अनुगमनसँग सम्बद्ध कुनै पनि जानकारी पेश गर्न वित्तीय संस्थालाई बाध्य बनाउने र सिफारिस ३५ अनुरुप त्यस्तो शर्त परिपालना नगरेकोमा कारबाही र सजाय गर्न अख्तियारी सुपरीवेक्षकहरुलाई हुनुपर्छ । आवश्यकता अनुसार वित्तीय संस्थाको इजाजतपत्र फिर्ता लिने, प्रतिबन्ध लगाउने वा इजाजतपत्र निलम्बन गर्ने लगायतका विभिन्न किसिमका अनुशासन र वित्तीय कारबाही र सजाय गर्ने अधिकार सुपरीवेक्षकहरुलाई हुनुपर्छ ।

 

 

२८.गैरवित्तीय पेशाकर्मी वा व्यवसायीको नियमन र सुपरीवेक्षण

तोकिएका गैरवित्तीय पेशाकर्मी वा व्यवसायी देहायमा उल्लेख भए बमोजिमका नियामक र सुपरिवेक्षकीय उपायको अधिनमा रहने छन्ः

(क) क्यासिनोहरु सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न आवश्यक उपायहरुको प्रभावकारी रुपमा कार्यान्वयन गरेको सुनिश्चित गर्ने विस्तृत नियमक र सुपरीवेक्षकीय प्रणालीको अधीनमा रहनु पर्छः

·         क्यासिनोहरु  इजाजतप्राप्त हुनुपर्छ,

·         सक्षम निकायहरुले अपराधी र तिनका सहयोगी वा व्यवस्थापन वास्तविक धनीको पकडमा लिन वा  क्यासिनो सञ्चालक वा क्यासिनोको काममा आफ्नो नियन्त्रण राख्नबाट बचाउन आवश्यक कानूनी वा नियामक उपायहरु अवलम्बन गर्नुपर्छ । 

·         सक्षम निकायहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न आवश्यक शर्तहरुको परिपालना गर्नको लागि क्यासिनोहरुको प्रभावकारी रुपमा  सुपरीवेक्षण गरिएको सुनिश्चित गर्नुपर्छ  ।

(ख) राष्ट्रहरुले अन्य प्रकारका गैरवित्तीय पेशाकर्मी वा व्यवसायी पनि प्रभावकारी अनुगमन प्रणाली र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी शर्तहरुको परिपालना, अनुगमन र सुनिश्चित गर्ने प्रभावकारी प्रणालीको अधीनमा रहेको कुरा सुनिश्चित गर्नुपर्छ । यो कार्य जोखिमको संवेदनशीलताको आधारमा सम्पादन गर्नुपर्छ  । यस्तो कार्य (क)  सुपरिवेक्षक, वा (ख) उपयुक्त स्वनियामक निकायबाट सम्पादित हुन सक्छ । तर त्यस्तो निकायले आफ्ना सदस्यहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्ध लड्ने उनीहरुको दायित्व परिपालना गरेको सुनिश्चित गर्नुपर्छ ।

सुपरीवेक्षक वा स्वनियामक निकायहरुले (क) सही र उचितपरीक्षणको आधारमा व्यक्तिको मूल्यांकन गर्ने जस्ता काम गरी अपराधी वा तिनका सहयोगीहरुलाई व्यावसायिक रुपमा आबद्ध हुन वा महत्वपूर्ण वा नियन्त्रणकारी हित धारण गर्न वा त्यस्तो हितको वास्तविक धनी हुन वा व्यवस्थापकीय कार्य धारण गर्नबाट रोक लगाउने आवश्यक उपायहरु अवलम्बन गर्नुपर्छ र (ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी शर्तहरु परिपालना नभएको अवस्थामा प्रयोग गर्न सकिने प्रभावकारी, समानुपातिक र निरुत्साहनमूलक सजायको व्यवस्था सिफारिस नं. ३५ अनुकूल हुने गरी प्रयोग गर्न सक्ने व्यवस्था गर्नुपर्छ ।

सञ्चालन र कानून कार्यान्वयन सम्बन्धी

२९. वित्तीय जानकारी इकाई

राष्ट्रहरुले (क) शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन र (ख) सम्पत्ति शुद्धीकरण, सम्बद्ध कसूर र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसँग सम्बद्ध अन्य जानकारी प्राप्त गरी विश्लेषण गर्ने र सो विश्लेषणको नतिजा प्रचार प्रसार गर्ने राष्ट्रिय केन्द्रको रुपमा कार्य गर्ने वित्तीय जानकारी इकाई स्थापना गर्नुपर्छ । वित्तीय जानकारी इकाईलाई सूचक संस्थाहरुबाट थप जानकारी प्राप्त गर्न सक्ने अधिकार हुनुपर्छ र त्यस्तो इकाईलाई आफ्नो कार्य समुचित रुपले सम्पादन गर्न आवश्यक वित्तीय, प्रशासनिक र कानून कार्यन्वयन सम्बन्धी सूचनाहरु आवधिक रुपमा प्राप्त हुन सहज पहुँच उपलब्ध हुनुपर्छ ।

३०. कानून कार्यान्वयन र अनुसन्धान गर्ने अधिकारीको जिम्मेवारी

राष्ट्रहरुले तोकिएका कानून कार्यन्वयन गर्ने अधिकारीहरुमा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको राष्ट्रिय नीतिको संरचनाभित्र सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी रहेको सुनिश्चित गर्नुपर्छ । न्यूनतम रुपमा कसूरजन्य सम्पत्ति सृजना हुने मुख्य कसूरसँग सम्बन्धित सबैै मुद्दाहरुमा यस्ता तोकिएका कानून कार्यान्वयन गर्ने अधिकारीहरुले सम्पत्ति शुद्धीकरण, सम्बद्ध कसूर र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर अनुसन्धान तहकिकात गर्दा आफ्नै पहलमा समानान्तर वित्तीय अनुसन्धान गर्नुपर्छ । यस्तो अनुसन्धानमा तिनको क्षेत्राधिकार वाहिर भएका सम्बद्ध कसूर सम्बन्धी मुद्दाहरु समेत समावेश हुनुपर्छ । राष्ट्रहरुले जफत हुने वा जफत हुनसक्ने सम्पत्ति वा कसूरबाट आर्जित हो भन्ने शंंका लागेको सम्पत्ति पहिचान गर्ने, पत्ता लगाउने तथा रोक्का र नियन्त्रण गर्ने कारबाही प्रारम्भ गर्ने दायित्व सक्षम अधिकारीहरुमा रहेको सुनिश्चित गर्नुपर्छ । राष्ट्रहरुले वित्तीय वा सम्पत्ति सम्बन्धी अनुसन्धानमा विशिष्टिकृत ज्ञान भएका स्थायी वा अस्थायी बहुविधागत समूहहरुको आवश्यकतानुसार उपयोग समेत गर्नुपर्छ । राष्ट्रहरुले आवश्यक भएका बखत अन्य मुलुकका उपयुक्त सक्षम अधिकारीहरुसँग समन्वयात्मक रुपले अनुसन्धान भएको सुनिश्चित गर्नुपर्छ ।

३१. कानून कार्यन्वयन र अनुसन्धान गर्ने अधिकारीको अधिकार

सम्पत्ति शुद्धिकरण, सम्बद्ध कसूर र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा सक्षम अधिकारीहरुले त्यस्ता अनुसन्धान र अभियोजन र सम्बद्ध काम कारबाहीमा प्रयोग गर्नको लागि सबै आवश्यक कागजात र जानकारीमा पहुँच प्राप्त गर्न सक्षम हुनुपर्छ । यसमा वित्तीय संस्था, तोकिएका गैरवित्तीय पेशाकर्मी वा व्यवसायी, तथा अन्य प्राकृतिक वा कानूनी व्यक्तिले राखेका अभिलेख पेश गर्न लगाउने, व्यक्ति र परिसरको खानतलासी लिने, साक्षीलाई बकपत्र गराउने र दसी प्रमाण कब्जामा लिने र प्राप्त गर्ने सम्बन्धी बाध्यात्मक उपाय प्रयोग गर्न सक्ने अधिकार समेत समावेश हुुनुपर्छ ।

अनुसन्धान सम्बन्धी काम कारवाही गर्ने सक्षम अधिकारीले सम्पत्ति शुद्धिकरण, सम्बद्ध कसूर र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानका लागि उपयुक्त, व्यापक किसिमका अनुसन्धान गर्ने प्रविधि अवलम्बन गर्नसक्ने कुरा राष्ट्रहरुले सुनिश्चित गर्नुपर्छ । यी अनुसन्धान प्रविधिहरुमा अण्डरकभर अपरेशन, संचारको निगरानी, कम्प्यूटर प्रणालीको मूल्याङ्कन र कन्ट्रोल डेलिभरी समेत समावेश हुन्छन् । साथै राष्ट्रहरुले प्राकृतिक वा कानूनी व्यक्तिले लेखा राखेको वा नियन्त्रण गरेको कुरा यथासमयमै पहिचान गर्ने प्रभावकारी उपायहरु अवलम्बन गरेको हुनुपर्छ । राष्ट्रहरुले सम्पत्तिको धनीलाई पूर्व जानकारी नदिई सम्पत्ति पहिचान गर्ने प्रक्रिया सक्षम अधिकारीहरुले अवलम्बन गर्ने सुनिश्चित गर्ने संयन्त्र समेतको व्यवस्था गर्नुपर्छ । सम्पत्ति शुद्धिकरण, सम्बद्ध कसूर र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा सक्षम अधिकारीहरु वित्तीय जानकारी इकाईमा रहेका सबै सम्बद्ध जानकारी माग गर्न सक्षम हुनुपर्छ ।

३२. नगद कुरियर

नगद कुरियर र धारक विनिमेय अधिकारपत्रको कुरियरहरुले मुद्राको प्रत्यक्ष रुपले सीमापार ढुवानी गर्दा उद्घोषण गर्नुपर्ने प्रणाली वा विवरण खुलाउनु पर्ने प्रणाली लगायतका उपायहरु अवलम्बन गर्नुपर्छ ।

राष्ट्रहरुले आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, सम्पत्ति शुद्धीकरण वा सम्बद्ध कसूरसँग सम्बन्धित भएको शंका गरिएका वा झुट्टा रुपमा उद्घोषण गरिएका वा विवरण पेश गरिएका मुद्रा वा धारक विनिमेय अधिकारपत्र रोक्ने वा तिनमा प्रतिबन्ध लगाउन कानूनी अधिकार आफ्ना सक्षम अधिकारीहरुलाई भएको सुनिश्चित गर्नुपर्छ ।

झुट्टा उद्घोषण गर्ने वा झुट्टा विवरण पेश गर्ने व्यक्तिहरुका हकमा प्रभावकारी, समानुपातिक र निरुत्साहनमूलक सजाय गर्न सकिने व्यवस्था सुनिश्चित गर्नुपर्छ । मुद्रा वा धारक विनिमेय अधिकारपत्र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, सम्पत्ति शुद्धीकरण वा सम्बद्ध कसूरसँग सम्बन्धित भएको अवस्थामा राष्ट्रहरुले त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्र जफत गर्न सक्ने व्यवस्था गर्ने सिफारिस ४ अनुकूलको कानूनी उपाय लगायतका उपायहरु समेत ग्रहण गर्नु पर्छ ।

सामान्य शर्तहरु

३३. तथ्याङ्क

राष्ट्रहरुले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको प्रणालीको प्रभावकारीता र दक्षतासँग सम्बद्ध कुराहरु सम्बन्धी विस्तृत तथ्याङ्क अभिलेख गरी राख्नुपर्छ । यस्ता तथ्याङ्क अभिलेखमा प्राप्त गरिएको र वितरण गरिएको शंकास्पद कारोबार प्रतिवेदन सम्बन्धी तथ्याङ्क, सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको कसूर सम्बन्धी अनुसन्धान, अभियोजन र कसूर ठहर सम्बन्धी, रोक्का, नियन्त्रण र जफत गरिएको सम्पत्ति सम्बन्धी र पारस्परिक कानूनी सहायता वा सहयोगका लागि अन्य अन्तर्राष्ट्रिय अनुरोध सम्बन्धी तथ्याङ्क समेत समावेश हुनुपर्छ ।

३४. मार्ग निर्देशिका र पृष्ठपोषण

सक्षम अधिकारी, सुपरिवेक्षक र स्वनियामक निकायहरुले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय उपायहरु अवलम्वन गर्दा र खासगरी शंकास्पद कारोबार पत्ता लगाई सोको प्रतिवेदन दिने काम गर्दा वित्तीय संस्था र तोकिएका गैरवित्तीय पेशाकर्मी वा व्यवसायीलाई सहयोग पुग्न जाने मार्गनिर्देशिका जारी गर्नुपर्छ र तत्सम्बन्धमा पृष्ठपोषण उपलब्ध गराउनु पर्छ ।

सजाय

३५. सजाय

राष्ट्रहरुले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी शर्तहरु परिपालना नगर्ने सिफारिस नं. ६, र ८ देखि २३ सम्मका सिफारिसहरुबाट समेटिएका प्राकृतिक वा कानूनी व्यक्तिहरुलाई व्यवहार गर्न विभिन्न किसिमका प्रभावकारी, समानुपातिक र निरुत्साहनमूलक फौजदारी, देवानी वा प्रशासनिक सजायको व्यवस्था गरिएको सुनिश्चित गर्नुपर्छ । त्यस्ता सजाय वित्तीय संस्थाहरु र तोकिएका गैरवित्तीय पेशाकर्मी वा व्यवसायीको हकमा मात्रै नभई तिनका संचालक र उच्च व्यवस्थापन समेतको हकमा लागू हुनुपर्छ ।

छ. अन्तर्राष्ट्रिय सहयोग

३६. अन्तर्राष्ट्रिय दस्तावेजहरु

राष्ट्रहरुले भियना महासन्धि, १९८८, पालेर्मो महासन्धि, २०००, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि २००३ र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी दमन सम्बन्धी महासन्धि, १९९९ को पक्ष बन्न र पूर्ण रुपले कार्यान्वयन गर्न तत्कालै कदम चाल्नुपर्छ । आवश्यकता अनुसार साइवर अपराध सम्बन्धी युरोपेली परिषद्को महासन्धि, २००१, आतङ्कवाद विरुद्धको अन्तर अमेरिकी महासन्धि, २००२, कसूरजन्य सम्पत्तिको शुद्धीकरण, खानतलासी, कब्जा र जफत सम्बन्धी तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी युरोपेली परिषद्को महासन्धि, २००३ जस्ता अन्य सम्बद्ध अन्तर्राष्ट्रिय महासन्धिहरुको अनुमोदन र कार्यान्वयन गर्न समेत राष्ट्रहरुलाई प्रोत्साहन गरिएको छ ।

३७. पारस्परिक कानूनी सहायता

राष्ट्रहरुले सम्पत्ति शुद्धीकरण, सम्बद्ध कसूर र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान, अभियोजन र सम्बन्धित कारबाहीका सम्बन्धमा संभव भएसम्मको व्यापक तहको पारस्परिक कानूनी सहायता शीघ्रतापूर्वक संरचनात्मक र प्रभावकारी ढंगले उपलब्ध गराउनु पर्छ । सहायता उपलब्ध गराउनको लागि राष्ट्रहरुले पर्याप्त कानूनी आधार सृजना गर्नुको साथै उपर्युक्तानुसार सहयोग अभिवृद्धि गर्न सन्धि, प्रवन्ध वा अन्य संयन्त्रको व्यवस्था गरेको हुनुपर्छ । खासगरी राष्ट्रहरुले,–

(क) पारस्परिक कानूनी सहायता उपलब्ध गराउन निषेध गर्नु वा तत्सम्बन्धमा बेमनासिब वा अनुचित रुपले प्रतिवन्धात्मक शर्त राख्नु हुँदैन ।

(ख) पारस्परिक कानूनी सहायता सम्बन्धी अनुरोधको सामयिक प्राथमिकीकरण र कार्यान्वयनको लागि स्पष्ट र छरितो प्रक्रिया विद्यमान रहेको सुनिश्चित गर्नुपर्छ । राष्ट्रहरुले अनुरोधको प्रभावकारी संप्रेषण र कार्यान्वयनको लागि केन्द्रीय अधिकारी वा अन्य स्थापित अधिकारिक वा अन्य स्थापित अधिकारिक संयन्त्र प्रयोग गर्नुपर्छ । अनुरोध सम्बन्धी प्रगति अनुगमन गर्नको लागि मुद्दा व्यवस्थापन प्रणाली बहाल राख्नुपर्छ ।

(ग)   सम्बन्धित कसूरमा वित्तीय विषय समेत समावेश भएको मानिने भन्ने आधारमा मात्रै पारस्परिक कानूनी सहायताको अनुरोध कार्यान्वयन गर्न इन्कार नगर्ने ।

(घ) वित्तीय संस्थाहरुले कानून बमोजिम गोप्यता वा गोपनीयता कायम गर्नुपर्ने शर्त छ भन्ने आधारमा पारस्परिक कानूनी सहायताको अनुरोध कार्यान्वयन गर्न इन्कार नगर्ने ।

(ङ)  राष्ट्रिय कानूनका मौलिक सिद्धान्तहरुको अधिनमा रही अनुसन्धान तहकिकात वा छानबिनको विश्वसनियता संरक्षण गर्ने उद्देश्यले आफूले प्राप्त गरेका पारस्परिक कानूनी सहायता सम्बन्धी अनुरोध र तीनमा रहेका जानकारीको गोपनीयता कायम राख्ने । अनुरोध गरिएको राष्ट्रले गोपनीयताको शर्त पालना गर्न नसकेमा सो राष्ट्रले अनुरोध गर्ने राष्ट्रलाई अविलम्व सोको जानकारी दिनुपर्छ ।

पारस्परिक कानूनी सहायताको अनुरोधमा बलपूर्वकको काम कारबाही समावेश नभएमा राष्ट्रहरुले दोहोरो आपराधिकताको अभाव भए तापनि त्यस्तो सहायता उपलब्ध गराउनुपर्छ । राष्ट्रहरुले दोहोरो आपराधिकताको अभावमा पनि व्यापक दायराको सहायताहरु उपलब्ध गराउन सक्ने गरी आवश्यक उपायहरु ग्रहण गर्ने तर्फ विचार गर्नुपर्छ ।

पारस्परिक कानूनी सहायताको लागि दोहोरो आपराधिकता आवश्यक पर्ने शर्त भएमा सो अपराधको कार्य÷आचरणलाई दुवै राष्ट्रहरुले अपराधको रुपमा परिभाषित गरेको अवस्थामा दुवै राष्ट्रहरुले सो अपराधलाई कसूरको एउटै वर्गमा राखेको वा एउटै नाम वा शब्दावलीबाट सो कसूर स्थापित गरेको वा नगरेको जे भए तापनि त्यस्तो शर्त पूरा भएको मानिनेछ ।

सिफारिस ३१ अन्तर्गत आवश्यक अधिकार तथा अनुसन्धान प्रविधि र तीनका सक्षम अधिकारीहरुलाई उपलब्ध अन्य कुनै अधिकार र अनुसन्धान प्रविधिमध्येस

(क) वित्तीय संस्था वा अन्य व्यक्तिहरुबाट जानकारी, कागजात वा प्रमाण (वित्तीय अभिलेख समेत) पेश गर्न लगाउने, खानतलासी गर्ने र कब्जामा लिने सम्बन्धी सबै अधिकार,

 (ख) व्यापक दायराका अन्य अधिकार र अनुसन्धान प्रविधिहरु

 पारस्परिक कानूनी सहायता वा अनुरोधको हकमा प्रयोग गर्न र राष्ट्रिय संरचना अनुकूल भएमा विदेशी न्यायिक वा कानून कार्यान्वयन गर्ने अधिकारीबाट राष्ट्रिय न्यायिक वा कानून कार्यान्वयन गर्ने अधिकारीले प्राप्त गरेका प्रत्यक्ष अनुरोधको हकमा प्रयोग गर्न सक्ने गरी उपलब्ध भएको राष्ट्रहरुले सुनिश्चित गर्नुपर्छ ।

क्षेत्राधिकारको द्वन्द्व हुन नदिन एक भन्दा बढी राष्ट्रमा अभियोजन भई रहेका मुद्दाहरुमा न्यायको रोहबाट प्रतिवादी विरुद्ध अभियोजनको लागि सबैभन्दा उत्तम स्थान (भेनु) निर्धारण गर्नको लागि संयन्त्रको व्यवस्था र उपयोग गर्न विचार गर्नुपर्छ । पारस्परिक कानूनी सहायताको अनुरोध गर्दा राष्ट्रहरुले त्यस्तो अनुरोध कार्यान्वयन गर्न अत्यावश्यक अवस्थालाई समेत दृष्टिगत गर्दै सोको यथासमयमै र प्रभावकारी कार्यान्वयन गर्न सकिने गरी पूर्ण तथ्यगत र कानूनी जानकारी उपलब्ध गराउन सकेसम्मको प्रयत्न गर्नुपर्छ । राष्ट्रहरुले अनुरोध पठाउनु अघि सहायता प्राप्त गर्न आवश्यक कानूनी शर्त र औपचारिकता सम्बन्धी व्यवस्थाहरु एकिन गर्न प्रयास गर्नुपर्छ ।

पारस्परिक कानूनी सहायताको लागि जिम्मेवार अधिकारी (उदाहरणको लागि केन्द्रीय अधिकारी) लाई पर्याप्त वित्तीय, मानव र प्राविधिक स्रोत उपलब्ध गराउनु पर्छ । राष्ट्रहरुले केन्द्रीय अधिकारीका कर्मचारीहरुले उच्च पेशाजन्य स्तर एवं गोपनीयता सम्बन्धी मापदण्ड कायम र पालना गरेको तथा उपयुक्त सीप हासिल गरेको र उनीहरुमा उच्च नैतिकता भएको सुनिश्चित गर्ने कार्यविधि लागू गर्नुपर्छ ।

३८. पारस्परिक कानूनी सहायता : नियन्त्रण र जफत

राष्ट्रहरुले शुद्धीकरण गरिएको सम्पत्ति, सम्पत्ति शुद्धीकरण, सम्बद्ध कसूर र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त सम्पत्ति ती कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको साधन वा सो मूल्य बराबरको सम्पत्ति पहिचान, रोक्का, नियन्त्रण र जफत गर्न विदेशी राष्ट्रबाट गरिएको अनुरोध अनुसार तत्काल काम कारबाही गर्न उनीहरुलाई अख्तियारी भएको सुनिश्चित गर्नुपर्छ । सो अख्तियारीमा तीनका राष्ट्रिय कानूनका मौलिक सिद्धान्तहरु प्रतिकूल नभएको अवस्थामा दोषी ठहर हुनु पूर्वको जफत सम्बन्धी कारबाही र सम्बद्ध अस्थायी उपायहरुको आधारमा गरिएका अनुरोध बमोजिम काम गर्नसक्ने अधिकार समेत समावेश हुनुपर्छ । राष्ट्रहरुले त्यस्तो सम्पत्ति, साधन वा सो मूल्य बराबरको अन्य सम्पत्तिको व्यवस्थापन र जफत गरिएको सम्पत्तिमा हिस्सेदारी लगायत कब्जा र जफत सम्बन्धी कारवाहीको समन्वय गर्ने प्रबन्ध समेत गर्नुपर्छ ।

३९. सपुर्दगी

राष्ट्रहरुले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीका सम्बन्धमा गरिएको सपुर्दगीको अनुरोधलाई अनुचित विलम्ब नगरी संरचनात्मक र प्रभावकारी किसिमले कार्यान्वयन गर्नुपर्छ । राष्ट्रहरुले आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवादी कार्यको अभियोग लागेका व्यक्ति वा आतङ्ककारी संगठनको लागि सुरक्षित स्थल नभएको सुनिश्चित गर्न सबै संभव उपायहरु समेत अपनाउनु पर्छ । खासगरी, राष्ट्रहरुले ः

(क)  सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई सपुर्द गर्न सकिने कसूरको रुपमा व्यवस्था गरिएको सुनिश्चित गर्नुपर्छ,

(ख) उपर्युक्तानुसार प्राथमिकीकरण गर्ने लगायत सपुर्दगी सम्बन्धी अनुरोधको सामयिक कार्यान्वयन गर्नको लागि स्पष्ट र प्रभावकारी प्रक्रिया बहाल रहेको सुनिश्चित गर्नुपर्छ,

(ग)  अनुरोधको कार्यान्वयनको लागि बेमुनासिब वा अनुपयुक्त प्रतिबन्धात्मक शर्तको व्यवस्था गर्नु हुँदैन,

(घ)  सपुर्दगीको लागि पर्याप्त कानूनी संरचनाको व्यवस्था बहाल रहेको सुनिश्चित गर्नुपर्छ ।

प्रत्येक राष्ट्रले आफ्ना नागरिकलाई सपुर्द गर्नुपर्ने वा कुनै राष्ट्रले राष्ट्रियताको आधारमा मात्रै त्यसरी सपुर्द नगर्ने भएमा त्यस्तो राष्ट्रले सपुर्दगीको माग गर्ने राष्ट्रको अनुरोधमा अनुचित विलम्ब नगरी सो अनुरोधमा उल्लिखित कसूरमा अभियोजन गर्ने प्रयोजनको लागि आफ्नो सक्षम अधिकारी समक्ष सो मुद्दा दायर गर्नुपर्छ । ती अधिकारीले सो राष्ट्रको राष्ट्रिय कानून अन्तर्गत गम्भिर प्रकृतिको अन्य कुनै कसूरको हकमा जस्तै कारवाही र निर्णय गर्नुपर्छ । सम्बन्धित राष्ट्रहरुले त्यस्ता अभियोजनको दक्षता सुनिश्चित गर्न खासगरी कार्यविधिगत र प्रमाण सम्बन्धी पक्षमा एक अर्कालाई सहयोग गर्नुपर्छ ।

सपुर्दगीको लागि दोहोरो आपराधिकता आवश्यक पर्ने शर्त भएमा सो अपराधको कार्य÷आचरणलाई दुवै राष्ट्रहरुले अपराधको रुपमा परिभाषित गरेको अवस्थामा दुवै राष्ट्रहरुले सो अपराधलाई कसूरको एउटै वर्गमा राखेको वा एउटै नाम वा शब्दावलीबाट सो कसूर स्थापित गरेको वा नगरेको जे भए तापनि त्यस्तो शर्त पूरा भएको मानिनेछ ।

राष्ट्रिय कानूनका मौलिक सिद्धान्तहरुको अधीनमा रही राष्ट्रहरुले उपयुक्त अधिकारीहरु बीच अन्तरकालिन (प्रोभिजनल) पक्राउको अनुरोध सिधै सम्प्रेषण गर्न सकिने, पक्राउ पूर्जी वा फैसलाको आधारमा मात्रै व्यक्तिहरुलाई सपुर्द गर्ने वा सपुर्दगीको औपचारिक प्रक्रिया परित्याग गर्न सहमति दिने व्यक्तिको सरलीकृत सपुर्दगीको व्यवस्था गर्ने जस्ता सपुर्दगीका सरलीकृत संयन्त्रहरुको व्यवस्था गर्नुपर्छ । सपुर्दगीको लागि जिम्मेवार अधिकारीहरुलाई पर्याप्त वित्तीय, मानव र प्राविधिक स्रोत उपलब्ध गराउनुपर्छ । राष्ट्रहरुले त्यस्ता अधिकारीका कर्मचारीहरुले उच्च पेशाजन्य स्तर एवं गोपनीयता सम्बन्धी मापदण्ड कायम र पालना गरेको, उपयुक्त सीप हासिल गरेको र उनीहरुमा उच्च नैतिकता भएको सुनिश्चित गर्ने कार्यविधि लागू गर्नुपर्छ ।

४०. अन्य किसिमका अन्तर्राष्ट्रिय सहयोग

राष्ट्रहरुले आफ्ना सक्षम अधिकारीहरुले सम्पत्ति शुद्धीकरण, सम्बद्ध कसूर र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा व्यापक दायराको अन्तर्राष्ट्रिय सहयोग शीघ्र, संरचनात्मक र प्रभावकारी ढंगले उपलब्ध गराउन सक्ने कुरा सुनिश्चित गर्नुपर्छ । राष्ट्रहरुले यस्तो सहयोग स्वतःस्फूर्त रुपमा र अनुरोधको आधारमा उपलब्ध गराउनु पर्छ र सहयोग उपलब्ध गराउनको लागि कानूनी आधारको व्यवस्था गरिएको हुनुपर्छ । राष्ट्रहरुले सहयोग उपलब्ध गराउन सबैभन्दा बढी दक्ष माध्यमको प्रयोग गर्नुपर्छ । सक्षम अधिकारीलाई समझदारीपत्र जस्ता द्विपक्षीय वा बहुपक्षीय सम्झौता वा प्रबन्ध आवश्यक भएमा व्यापक दायराका विदेशी समकक्षीहरुसँग त्यस्ता सम्झौता वा प्रबन्धको वार्ता गरी सामयिक रुपले सम्पन्न गर्नुपर्छ । सक्षम अधिकारीहरुले जानकारी वा अन्य किसिमको सहायताको अनुरोधको प्रभावकारी संप्रेषण र कार्यान्वयनको लागि स्पष्ट माध्यम वा संयन्त्रहरुको प्रयोग गर्नुपर्छ ।

 

 

 

 

 

सम्पर्क

ठेगाना

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर

फोन: 977-1-5010277, 977-1-5010225
फ्याक्स: 977-1-5010282

ईमेल: info@dmli.gov.np