NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा षष्ठी - २१

परिचय

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नेपाल सरकारबाट ३१ असार २०६८ मा स्थापना भएको हो । सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तार (प्रोलिफेरेशन) मा सहयोग गर्न कुनै पनि प्रकारका गैरकानूनी कमाइ र योगदानका विरूद्ध अनुसन्धान गर्ने एक आधिकारीक निकाय हो । यो विभाग¸ आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तार विरूद्धको राष्ट्रिय प्रणालीको एक प्रमुख अङ्ग हो ।


सम्पत्ति शुद्धीकरण गैरकानूनी रूपमा आर्जित धनलाई कानूनी ढंगले कमाइएको भनी रूप परिवर्तन गर्ने एक प्रक्रिया हो । सामान्यतः अशुद्ध तरीकाले र मुख्यतः कानूनसम्मत् आर्थिक कारोबार नगरी धन थुपार्नाले आर्थिक नियमहरू¸ आर्थिक दक्षता तथा महत्वपूर्ण रूपमा कानूनी राजमा खलल आउने र अन्ततः मुलुकको समग्र अर्थतन्त्र नै ध्वस्त हुने हुन्छ । आर्थिक विकास घट्ने¸ विदेशी विनिमय दर र ब्याजदरमा गडबडी आउने मात्र नभई कारोबारका कानूनी पक्षहरू कमजोर हुने तथा यसको मूल स्वभावले नै राज्यको भ्रष्टाचार र भूमिगत वा अनौपचारिक अर्थतन्त्र विरूद्ध लड्ने शक्ति क्षय हुन जान्छ । वैध आर्थिक क्रियाकलापलाई प्रश्रय दिन तथा फलतः प्रभावकारी अनुसन्धानद्वारा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीमा रोक लगाउने लगायतका गैरकानूनी आर्थिक धन्दाहरूलाई निरूत्साहित गराउन उपयुक्त कानूनी र संस्थागत व्यवस्था हुनुपर्दछ । यसैको लागि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अस्तित्वमा आएको छ । विभिन्न दृष्टिकोणबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पादन गर्नुपर्ने कामहरू महत्वपूर्ण छन् ।


विभागले मूलतः नेपाल राष्ट्र बैंक स्थित वित्तीय जानकारी इकाईबाट सूचना प्राप्त भएपछि अनुसन्धानको क्रममा प्रारम्भिक रूपमा शुरुवात गरी आवश्यक परेमा विस्तृत र व्यापक अनुसन्धान तहकिकात गर्दछ । विभागले प्राप्त गर्ने सूचनाको लागि नेपाल प्रहरी अर्को महत्त्वपूर्ण स्रोत हो । नेपालका मूल कसूर हेर्ने अन्य निकायहरु र सर्वसाधारण मानिसहरु विभागका महत्वपूर्ण सूचनादाता र प्रेरणाका स्रोत हुन् ।


स्पष्टतः आर्थिक अपराध विरूद्ध लड्नु विभाग एक्लैको वशको कुरा होइन । सम्बद्ध सरोकारवालासँगको सामूहिक भावनामा काम गर्नुपर्दछ । सरकारी संयन्त्रभित्रका सरोकारवालाहरुमा नेपाल राष्ट्र बैंक¸ नेपाल प्रहरी¸ महान्यायाधिवक्ताको कार्यालय पर्दछन् । बाह्य सरोकारवालामा व्यावसायिक संगठनहरु¸ विभिन्न पेशाविद् संगठनहरू पनि उत्तिकै महत्वपूर्ण छन् । सीमापारिका निकायहरूमा फ्रान्सको पेरिसस्थित सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीविरूद्ध छाता संगठनको रूपमा कार्यरत तथा अन्तर-सरकारी सर्वोच्च निकाय वित्तीय कारवाही कार्यदल (एफएटीएफ)¸ विश्व बैंक¸ अन्तर्राष्ट्रीय मुद्रा कोष¸ विभिन्न संयुक्त राष्ट्रसंघीय निकायहरू¸ आदि आउँछन् । त्यसै गरी एसिया-प्रशान्त क्षेत्रमा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरूद्धको क्षेत्रीय निकायको रूपमा अष्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको सम्पत्ति शुद्धकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्र समूह (एपिजी) पनि एक महत्वपूर्ण निकाय हो । त्यस्तै सीमा वार-पारका अनुसन्धान-प्रयासहरूमा मद्दत गर्ने छिमेकी र मित्र राष्ट्रहरूका सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरूद्धका संयन्त्रहरु पनि हाम्रा अति महत्त्वपूर्ण सरोकारवाला हुन् । सबैभन्दा बढी हामीलाई गैरकानूनी आर्थिक क्रियाकलापहरू¸ आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी एवं अन्य विनासका हातहतियार विस्तार सम्बन्धी महत्त्वपूर्ण सूचना दिएर तथा हाम्रा कामकारवाहीमा प्रतिक्रिया समेत दिएर मद्दत गर्ने आम सर्वसाधारण पनि महत्वपूर्ण साझेदार हुन् ।


हामी सम्पत्ति शुद्धीकरण सम्बन्धी सबै सूचनादाताहरूको योगदानलाई कदर गर्छौं । यसरी सबैसँग साझेदारी गरेर नै प्रभावकारी अनुसन्धानमूलक निकायको रूपमा विभागले कार्य गरी आफूले लिएको परिकल्पना साकार गरी आफ्नो उद्देश्य पूरा गर्न सक्छ भन्ने हाम्रो विश्वास छ । विभागले गर्नुपर्ने कार्य धेरै भएकाले यस संगठनको उद्देश्य प्राप्तिमा अन्तर्राष्ट्रिय सरोकारवाला सहित सबै राष्ट्रिय साझेदारहरूबाट आवश्यक सहयोग र समर्थन रहिरहने अपेक्षा गर्दछौं ।