सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सम्पत्ति शुद्धीकरणबाट प्राप्त आय गैरकानूनी हुने व्यवस्था गर्नुको साथै आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीलाई अपराधीकरण पनि गरेको छ । मूलतः अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्ने कामलाई रोक्ने एवं आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीलाई अपराधीकरण गर्ने मूल लक्ष्य लिएर जारी भएको यो ऐनमा सम्पत्ति शुद्धीकरणको परिभाषासहितका यस क्षेत्रमा आवश्यक देहायका महत्वपूर्ण प्रावधानहरु रहेका छन् ।
(क) सम्पत्ति शुद्धीकरणको परिभाषा र कसूरजन्य कार्यहरु
ऐनले देहायको सम्पत्ति शुद्धीकरणसम्बन्धि एक वा बढि सम्बद्ध कसूर गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त, धारण, भोगचलन गरे वा गराएमा वा त्यस्तो सम्पत्तिको स्रोत, प्रकृति, स्थान, स्वामित्व, अधिकार, कारोबार लुकाउने, परिवर्तन गर्ने वा छल्ने उद्देश्यले गरेका काम सम्पत्ति शुद्धीकरण गरेको मानिनेछ ।
१. प्रचलित कानून अन्तर्गतको देहायको कुनै कसूरः–
(क) सङ्गठित आपराधिक समूह र गैरकानूनी वा धुत्र्याइपूर्वकको असूली (¥याकेटरिङ्ग) मा सहभागी हुने सम्बन्धी,
(ख) विध्वंसात्मक कार्य लगायत आतङ्कवाद सम्बन्धी,
(ग) जुनसुकै प्रकारको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी,
(घ) बाल यौन शोषण लगायत जुनसुकै प्रकारको यौन शोषण सम्बन्धी,
(ङ) लागू औषध तथा मनोद्विपक पदार्थको गैरकानूनी ओसारपसार सम्बन्धी,
(च) हातहतियार खरखजानाको गैरकानूनी ओसारपसार सम्बन्धी,
(छ) चोरी गरिएको वा अन्य वस्तुको गैरकानूनी ओसारपसार सम्बन्धी,
(ज) भ्रष्टाचार तथा घुस सम्बन्धी,
(झ) ठगी सम्बन्धी,
(ञ) कीर्ते सम्बन्धी,
(ट) खोटा सिक्का वा मुद्रा सम्बन्धी,
(ठ) नक्कली वस्तुको उत्पादन तथा उत्पादनको गैरकानूनी प्रतिलिपि वा चोरी (पाइरेसी अफ प्रोडक्टस्) सम्बन्धी,
(ड) वातावरण सम्बन्धी,
(ढ) ज्यान लिने तथा अङ्गभङ्ग सम्बन्धी,
(ण) अपहरण, गैरकानूनी थुना वा शरीर बन्धक सम्बन्धी,
(त) चोरी वा डकैती सम्बन्धी,
(थ) तस्करी (भन्सार, अन्तशुल्क तथा कर सहित) सम्बन्धी,
(द) कर (प्रत्यक्ष वा अप्रत्यक्ष समेत) सम्बन्धी,
(ध) आपराधिक लाभ (एक्स्टर्सन) सम्बन्धी,
(न) सामुद्रिक डकैती (पाइरेसी) सम्बन्धी,
(प) धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने (मार्केट म्यानिपुलेसन) वा भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग) सम्बन्धी,
(फ) प्राचीन स्मारक संरक्षण सम्बन्धी,
(ब) वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी,
(भ) मुद्रा, बैंकिङ्ग, वित्तीय, विदेशी विनिमेय, विनिमेय अधिकारपत्र, बीमा वा सहकारीसँग सम्बन्धी,
(म) कालोबजार, उपभोक्ता संरक्षण, प्रतिस्पर्धा वा आपूर्ति सम्बन्धी,
(य) निर्वाचन सम्बन्धी,
(र) सञ्चार, प्रशारण, विज्ञापन सम्बन्धी,
(ल) यातायात व्यवसाय, शिक्षा, स्वास्थ्य, औषधी वा वैदेशिक रोजगार ठगी सम्बन्धी,
(व) फर्म, साझेदारी, कम्पनी वा संघ संस्था सम्बन्धी,
(श) घर, जग्गा र सम्पत्ति सम्बन्धी,
(ष) चिठा, जुवा वा चन्दा सम्बन्धी,
(स) नागरिकता, अध्यागमन वा राहदानी सम्बन्धी ।
२. ऐनबमोजिमको आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर,
३. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य कुनै कसूर, वा
४. उल्लेखित कसूर मानिने कुनै कार्य विदेशमा भए गरेको र त्यस्तो कार्य सम्बन्धित मुलुकको कानून बमोजिम समेत अपराध मानिने रहेछ भने त्यस्तो कसूर ।
(ख) राष्ट्रिय समन्वय समितिको व्यवस्था
राष्ट्रिय समन्वय समितिको गठनः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अन्तर निकाय बीच समन्वय गर्न र नेपाल सरकारलाई आवश्यक सुझाव दिनको लागि देहाय बमोजिमको एक राष्ट्रिय समन्वय समिति रहनेछः–
१ सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – संयोजक
२ सचिव, अर्थ मन्त्रालय – सदस्य
३ सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
४ सचिव, गृह मन्त्रालय – सदस्य
५ सचिव, परराष्ट्र मन्त्रालय – सदस्य
६ नायव महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय – सदस्य
७ सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग – सदस्य
८ डेपुटी गर्भनर, राष्ट्र बैङ्क – सदस्य
९ प्रहरी महानिरीक्षक, नेपाल प्रहरी – सदस्य
१० प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग – सदस्य
वित्तीय जानकारी इकाईको प्रमुखले उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको सचिवको रुपमा काम गर्नेछ र वित्तीय जानकारी इकाईले राष्ट्रिय समन्वय समितिको सचिवालयको रुपमा काम गर्नेछ । यस समितिअन्तरगत सं.शु./आ.क्रि.वि.ल. निवारणसम्बन्धि कामलाई सहज र सशक्त बनाउन विभिन्न समिति र उपसमितिहरुको व्यवस्थासमेत गरिएको छ ।
राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकार
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरितm राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुने व्यवस्था छ ः–
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अपनाउनु पर्ने नीति तयार गरी नेपाल सरकार समक्ष पेश गर्ने,
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी कार्यको सहजीकरण तथा समन्वय गर्ने र जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि आवश्यक नीतिगत तथा अन्य उपयुक्त व्यवस्था गर्ने वा गराउने,
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
नेपाल सदस्य भएको अन्तर्राष्ट्रिय संघ संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा तयार गरेको मापदण्ड वा नीति आवश्यकता अनुसार कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित निकायलाई निर्देशन दिने र सो निर्देशन बमोजिमको कार्य भए नभएको अनुगमन गर्ने,
सम्बद्ध निकाय, नियमनकारी निकाय तथा वित्तीय जानकारी इकाईले आफूले सम्पादन गरेका काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गरी आवश्यक समन्वय गर्ने,
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित विषयमा नेपाल सरकारले तोकिदिएको अन्य कार्य गर्ने वा गराउने ।
(ग) सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र यसको भूमिका
सम्पत्ति शुद्धीकरण निवारण सम्वन्धी कसुरको अनुसन्धान गर्ने कार्यका लागि ऐनको दफा ११ ले नेपाल सरकारले अर्थ मन्त्रालयअन्तगत अलग्गै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गर्ने व्यवस्था गरेको छ ।
वित्तीय सूचना इकाई, नेपाल प्रहरी, अन्य सरकारी तथा अर्धसरकारी निकाय वा सर्वसाधारणहरुबाट प्राप्त शंकास्पद कारोवारहरुको सूचनाको अधारमा अनुसन्धान तथा तहकिकात गर्ने जिम्मेवारी उक्त ऐनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रदान गरेको छ । यस सन्दर्भमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको भूमिका निम्नानुसार रहन्छः–
लिखित सूचना र संकास्पद कारोवारको प्राप्ती, त्यस्तो सूचनाको अभिलेखीकृत गर्ने, खानतलासी गर्ने, कागजात कब्जा गर्ने, खाता रोक्का गर्ने, सम्पत्ति रोक्का गर्ने, र अभियुक्त पक्रउ गर्ने,
सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीसम्बन्धि मुद्दाहरुको तहकिकात गर्न अनुसन्धान अधिकृत तोक्ने व्यवस्था अन्तर्गत विभागकै अधिकृत, अन्य सरकारी अधिकृत वा सार्वजनिक संस्थानका अधिकृत कर्मचारी जो सुकैलाई पनि तोक्न सकिने,
अनुसन्धान/तहकिकात सम्पन्न भएपछि सरकारी वकिलको निर्णयमुताविक विशेष अदालतमा मुद्दा दायर गर्ने ।
यस विभागले गर्ने अनुसन्धानको सामान्य प्रक्रिया/विधिको चित्रात्मक प्रस्तुती अनुसूची २ मा दिइएको छ ।
(घ) सम्पत्ति शुद्धीकरण निवारण कार्यमा वित्तीय सूचना इकाईको भूमिका
सम्पत्ति शुद्धीकरण निवारण सम्वन्धी सूचना संकलन तथा विश्लेषण गर्नको लागि नेपाल राष्ट्र बैंकमा वित्तीय जानकारी इकाई रहेको छ । यस इकाईको काम, कर्तव्य अधिकार निम्नानुसार रहेको छ ।
(क) यस ऐन बमोजिम निर्धारण गरिएको सीमा वा सो भन्दा बढीको कारोबारको विवरण प्राप्त गर्ने,
(ख) यस ऐन बमोजिम शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन प्राप्त गर्ने,
(ग) यस ऐन बमोजिम मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्राप्त गर्ने,
(घ) यस ऐन बमोजिम अन्य सूचना, कागजात तथा विवरण प्राप्त गर्ने,
(ङ) शङ्कास्पद कारोबार प्रतिवेदन लगायत यस ऐन बमोजिम प्राप्त अन्य प्रतिवेदन तथा जानकारीको विश्लेषण गर्ने,
(च) खण्ड (ङ) बमोजिम विश्लेषण गर्दा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूर सम्बन्धी शङ्का लागेमा विश्लेषणको निष्कर्ष आफैं वा सम्बन्धित निकायको अनुरोधमा विभाग वा प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान तहकिकात गर्ने निकायमा प्रवाह गर्ने,
(छ) यस ऐन बमोजिमको सूचना दिने दायित्व भएका सूचक संस्था, सम्बद्ध निकाय, नियमनकारी निकाय तथा आफ्ना कर्मचारीलाई आवश्यकता अनुसार तालीमको व्यवस्था गर्ने,
(ज) शङ्कास्पद कारोबारको पहिचान, शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा जानकारी समेतका सम्बन्धमा सूचक संस्था वा सम्बद्ध निकायलाई आवश्यक पृष्ठपोषण तथा मार्गदर्शन गर्ने,
(झ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैङ्क मार्फत नेपाल सरकार समक्ष पेश गर्ने,
(ञ) शङ्कास्पद कारोबार पहिचान, मूल्याङ्कन, प्रतिवेदन प्रणाली तथा सोको प्रभावकारिताका सम्बन्धमा नियमनकारी निकायलाई आवश्यकता अनुसार सूचक संस्थाको निरीक्षणमा गर्न सहयोग गर्ने वा निरीक्षण सुपरीवेक्षणको प्रतिवेदन अध्ययन गरी पृष्ठपोषण दिने,
(ट) समान प्रकृतिको काम गर्ने विदेशी निकायसँग पारस्पारिकताको आधारमा सहयोग आदान प्रदान सम्बन्धी समझदारी कायम गर्ने,
(ङ) अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार (सं.शु. निवारण ऐन, दफा १६)
(१) विभागको प्रमुखको सामान्य निर्देशन र नियन्त्रणमा रही यस ऐनको प्रयोजनका लागि अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कुनै सरकारी निकाय, नियमनकारी निकाय, सूचक संस्था वा सम्बन्धित व्यक्तिसँग रहेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी पेश गर्न आदेश दिने,
(ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित कुनै कागजात, लिखत, दशी, प्रमाण वा कसूरसँग सम्बन्धित साधन रहे भएको देखिएमा वा विश्वास गर्नु पर्ने मनासिब आधार भएमा तोकिए बमोजिमको सूचना दिई कुनै सरकारी निकाय, नियमनकारी निकाय, सूचक संस्था, व्यक्ति वा अन्य जुनसुकै स्थानको खानतलासी लिने तथा सम्बन्धित व्यक्ति वा पदाधिकारीलाई भरपाइ दिई त्यस्तो कागजात, लिखत, दशी, प्रमाण वा कसूरसँग सम्बन्धित साधन वा कसूरबाट प्राप्त सम्पत्ति बरामद गरी नियन्त्रणमा लिने,
(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्ति फरार हुने वा कुनै प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानको कारबाहीमा बाधा अवरोध गर्ने वा प्रतिकूल प्रभाव पार्न सक्ने मनासिब आधार भएमा निजलाई पक्राउ गरी प्रचलित कानून बमोजिम थुनामा राख्ने,
(घ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा जानकारी भएको वा हुन सक्ने मनासिब आधार भएको व्यक्तिसँग जानकारी, बयान वा ततिम्बा बयान लिने,
(ङ) खण्ड (घ) बमोजिम जानकारी, बयान वा ततिम्बा बयान लिँदा त्यस्तो व्यक्तिसँग थप जानकारी लिनु पर्ने देखिएमा खोजेका बखत हाजिर हुने गरी कागज गराई छाड्ने वा जमानत माग गर्ने र जमानत नदिएमा मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राख्ने,
(च) दफा १८ बमोजिम कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन रोक्का राख्न वा नियन्त्रणमा लिन त्यस्तो सम्पत्ति वा साधनको पूर्ण तथा प्रभावकारी पहिचान गर्ने, पत्ता लगाउने तथा मूल्याङ्कन गर्ने,
(छ) विदेशी वित्तीय जानकारी इकाईसँग कुनै सूचना हुन सक्ने लागेमा वित्तीय जानकारी इकाईमा लेखी पठाउने ।
(२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा दिएको आदेश पालना नगर्ने व्यक्तिलाई अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा विभागको प्रमुखले पाँच लाख रुपैँयासम्म जरिवाना गर्न सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न मद्दत गर्ने उद्देश्यले सम्पत्ति वा साधन रोक्का राख्न दफा १८ बमोजिम जारी गरेको आदेश पालना नगरेको देखिएमा त्यस्तो व्यक्ति विरुद्ध सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्न तथा मुद्दा चलाउन बाधा पर्ने छैन ।
(च) मुद्दा, जरिवाना, दण्ड सजाय, पुरस्कारको व्यवस्थाहरु
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्नेलाई सजाय
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्ने र षडयन्त्र गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ । (दफा ३०(१))
आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई विगो खुलेकोमा विगोको पाँच गुणा र विगो नखुलेकोमा एक करोड रूपैयाँसम्म जरिवाना र कसूरको गाम्भीर्य हेरी तीन वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ । (दफा ३०(३))
उल्लिखित कसूरहरुमध्ये अन्य कसूर गर्ने व्यक्तिलाई उल्लिखित सजायको आधा सजाय हुनेछ । (दफा ३०(२ र ४))
कुनै राष्ट्रसेवक वा सूचक संस्थाको पदाधिकारी वा कर्मचारीले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई उल्लिखित सजायमा थप दश प्रतिशत सजाय हुनेछ । (दफा ३०(७))
कुनै कानूनी व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कानूनी व्यक्तिलाई प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको गाम्भीर्यका आधारमा देहायका कुनै वा सबै सजाय (दफा ३० (८)) हुनेछः–
(क) माथि प्राकृतिक व्यक्तिलाई हुने जरिवानाको पाँच गुणासम्म जरिवाना गर्ने,
(ख) अवधी तोकी सार्वजनिक खरीदमा निषेध गर्ने,
(ग) अवधी तोकी उत्पादन वा सेवाको खरीद गर्न रोक लगाउने,
(घ) हानि नोक्सानीको क्षतिपूर्ति भराउने,
(ङ) इजाजतपत्र वा अनुमतिपत्र खारेज गर्ने, वा
(च) त्यस्तो कानूनी व्यक्तिलाई खारेज गर्ने ।
माथि लेखिए बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा बिगो खुलेकोमा बिगो जफत गरी विगो बमोजिमको जरिबाना र विगो नखुलेकोमा दशलाख रुपैयाँसम्म जरिबाना हुनेछ । (दफा ३०(९))
सम्पत्ति शुद्धीकरण सम्वन्धी कुनै पनि मुद्दाको हदम्याद नहुने (दफा २३) र थाहा पाएको मितिबाट मुद्दा चल्ने व्यवस्था छ । सवै सम्पत्ति शुद्धीकरण निवारणका मुद्दाहरु सरकारवादी हुने र सरकारी वकिलले प्रतिरक्षा गर्ने व्यवस्था छ । (दफा २४)
कुनै बैङ्क, वित्तीय संस्था वा गैर वित्तीय संस्थाको पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ । (दफा २७)
कसैले सम्पत्ति शुद्धीकरण गरेको सूचना दिने व्यक्तिलाई कसुर प्रमाणित भई कायम भएको विगोको १० प्रतिशत वा रु. १० लाख मध्ये जुन घटी छ सो बराबरको रकम पुरस्कार दिने पनि व्यवस्था छ । (दफा ४५)
प्रमाण लुकाउने वा नष्ट गर्नेलाई हुने सजायः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने काम कारबाहीसँग सम्बन्धित प्रमाण लुकाउने वा नष्ट गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार एक महिनादेखि तीन महिनासम्म कैद वा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो कार्य गर्न सहयोग गर्नेलाई सो सजायको आधा सजाय हुनेछ । (दफा ३२)
बाधा विरोध गर्नेलाई सजायः यस ऐन अन्तर्गतको अनुसन्धान सम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा निजलाई अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सक्नेछ । (दफा )
हैरानी वा झण्झट दिनेलाई सजायः कसैले उजूरी दिनु पर्ने मनासिब कारण नभई कसैलाई कुनै किसिमको हानि नोक्सनी पुर्याउने वा दुःख, हैरानी वा झण्झट दिने नियतले झूट्टो उजूरी दिएको प्रमाणित भएमा अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई दशहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । (दफा ३३क)